हप्तामा दुई दिन बिदा: पहिले शेरबहादुर देउवाले हटाए, उनैले फेरि सुरु गरे

सरकारले अर्को महिनाबाट सातामा दुई दिन शनिवार र आइतवार बिदा दिने निर्णय गरेको छ।हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास यसअघि पनि नेपालमा प्रचलनमा थियो।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा २०५९ सालबाट यो प्रचलन हटाएका थिए।

बुधवारको मन्त्रिपरिषद् बैठकले हाललाई परीक्षणका रूपमा दुई दिन बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

“हाललाई परीक्षणको रूपमा २०७९ जेठ १ गतेदेखि लागु हुने गरी बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने एवम् शनिवार र आइतवार सातामा दुई दिन बिदा दिने [निर्णय भयो]” सञ्चारमन्त्री कार्कीले भने।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र नेपालको विदेशी मुद्रा सञ्चितिमा आएको गिरावटपछि दुई दिन बिदाको प्रस्ताव गरिएको थियो।दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने अपेक्षा अधिकारीहरूले गरेका छन्।

यसअघि दुई वर्षमै उल्टाइएको थियो

यसअघि देउवा नै प्रधानमन्त्री भएको समयमा हप्तामा दुई दिन बिदा दिने निर्णय उल्टाएका थिए तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा विसं २०५६ साउन १ गतेबाट नेपालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरिएको थियो।

“त्यस बेला पनि अहिलेजस्तै पेट्रोलको भाउ बढेको थियो। बिजुली पनि बचाउनुपर्ने अवस्था थियो,” तत्कालीन मुख्यसचिव तीर्थमान शाक्यले बीबीसी न्यूज नेपालीसँग भने।

“तर त्यसको दुई महिनामै मन्त्रीहरू चाहिँ यो निर्णय हटाइदिनुपर्‍यो भनेर आउनुभयो।”

मन्त्रीका निवासमा कार्यकर्ताहरूको भिड लागेपछि कार्यालय समय हप्तामा छ दिन नै कायम राख्न उनीहरूले आफूलाई दबाव दिएको शाक्यले बताए।“म मुख्यसचिव हुँदासम्म यो कायम राख्नुपर्छ भनेर अडान लिएँ। तर म २०५८ चैतमा सेवानिवृत्त भएँ, वैशाखबाटै यो निर्णय उल्टिइहाल्यो।” बीबीसी

प्रतिक्रिया दिनुहोस