महामन्त्री शर्माको आग्रह, ‘कांग्रेसका उम्मेदवारको मुख नहेरी रुखमा मतदान गर्नुस्’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसका उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफुहरु लागिरहेको पनि बताउनुभयो ।

महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताउनुभयो । उहाँले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गर्नुभयो । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई बिस्थापित गरेर बिद्युतिय गाडी बिस्तार गरिने पनि उहाँको भनाई छ ।

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिदैँ मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिनुभयो । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उहाँले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस