भरतपुरमा कांग्रेस नेता पौडेल पार्टी छोड्न तयार, उम्मेदवारी फिर्ता नलिने

काठमाडौं । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस नेताले हालेको स्वतन्त्र उम्मेदवारी फिर्ता नलिने भएका छन् । पार्टीले निकाल्ने चेतावनी दिएपनि उनी उम्मेदवारी फिर्ता लिन तयार नभएका हुन् ।

सत्ता गठबन्धनबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउने गरी भएको तालमेल अवज्ञा गर्दै कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दिनु भएको छ ।

कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालसमेतको अनेकन प्रयासबीच पनि पौडेलले उम्मेदवारी फिर्ता नलिने प्रष्ट गरेपछि अफ्ठ्यारो परेको हो ।

अघिल्लो पटक नै माओवादीलाई मेयर दिँदा रुष्ट भएका चितवनका कांग्रेसी नेता–कार्यकर्ताले यस पटक सुरुदेखि नै गल्ती नदोहो¥याउन पार्टी नेतृत्वलाई अनुरोध आएका थिए ।

तर, कार्यकर्ताको भावना विपरित नेतृत्वले माओवादीकी दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरेपछि रुष्ट नेता–कार्यकर्ताको तर्फबाट पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभयो ।

पौडेललाई फकाउन प्रधानमन्त्री देउवाका दूत बनेर पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुग्नुभयो । पौडेलको घरमै पुगेर उम्मेदवारी फिर्ता लिन खाँण र श्रेष्ठले गरेको आग्रह पौडेलले अस्वीकार गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले पनि फोन गरेर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको थियो । आज बिहान कांग्रेसले एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवार दिए पार्टीबाट निकाल्ने चेतावनी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस