आज साँझसम्म बागीले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशित : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो ।

कांग्रेसले पार्टी र गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

‘स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले निर्धारित समयमा उम्मेदवारी फिर्ता नलिने उम्मेदवार र उनका समर्थक र प्रस्तावक स्वत ः पार्टीबाट निष्काशित हुने चेतावनी दिएको छ ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ,’ कांग्रेसले भनेको छ ।

प्रतिक्रिया दिनुहोस