एमालेलाई सत्ताको नभई देशको चिन्ता छ, हामी देश विकास गर्न सक्छौँ

बुटवल । आसन्न स्थानीय तहको चुनावमा खटिएका नेता कार्यकर्ताहरूलाई निर्देशन दिंदै एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देश विकासको प्रष्ट खाका र योजनाको सूचि लिएर मतदाताको घरदैलोमा पुग्न आग्रह गर्नु भएको छ ।

एमालेलाई सत्ताको नभई देशको चिन्ता रहेको उल्लेख गर्दै नेता पौडेलले देश बनाउने कार्यक्रम कार्यान्वयनका निम्ति जनताबाटै चुनिएर मात्रै एमाले सरकारमा जाने प्रष्ट पार्नुभयो ।

एमाले सैनामैनामा उम्मेदवार अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता पौडेलले एमालेको नेतृत्वमा भएका कार्यहरूको सूचि र नयाँ योजनाको फेहरिस्त लिएर जनतामा जान निर्देशन दिनुभयो । उपाध्यक्ष पौडेलले भन्नुभयो–आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले शानदार जित हासिल गर्ने छ ।

नेता पौडेलले एमालेको नीति, कार्यक्रम, सरकारमा जाँदा एमालेले गर्ने कामको सबै सन्देश जनतामा पु¥याउनु आग्रह गर्दै नेता पौडेलले जनादेश एमालेकै पक्षमा आउने बताउनुभयो ।

प्रतिपक्ष दलविरुद्ध सत्तारुढ दलले गठबन्धन दुनियाँमा कहीँ नभएको चटक भएको उल्लेख गर्दै नेता पौडेलले चुनाव हार्ने डरले सत्ता गठबन्धनले अहिले पनि अनेक तिगडम र षड्यन्त्र गरिरहेको वताउनुभयो । सैनामैनामा एमालेले प्रमुखमा चित्रबहादुर कार्की, उपप्रमुखमा बिना रानालाई उम्मेदवार बनाएको छ ।

सैनामैनाको समृद्धिको आधार तयार पार्ने, तिनै आधारहरुलाई कार्यान्वयन गर्ने कार्यक्रम समेत बनाउने सफल र जनप्रिय मेयरका रूपमा परिचित कार्कीले दोस्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिनुभएको छ ।

नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुसँगको अभिमुखीकरण कार्यक्रममा नेता पौडेलसहित पार्टीका पोलिटब्यूरो, केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका नेताहरूले शुभकामना दिनुभएको थियो ।

सैनामैनाका समृद्धिका आधार तयार छन् : कार्की
सैनामैना नगरपालिकाका मेयरका उम्मेदवार चित्रबहादुर कार्कीले पहिलो कार्यकालमा सैनामैनाको समृद्धिको आधार तयार भएको उल्लेख गर्दै समृद्धिका आधारलाई कार्यान्वयन गर्ने कार्यक्रमसमेत अगाडि सारेको प्रष्ट पार्नुभयोे ।

उहाँले पहिलो कार्यकालमा गरेका कामको प्रगति समीक्षा तथा उपलव्धिका प्रतिवेदनहरू सार्वजनिक भइसकेको बताउँदै योजना कार्यान्वयनको पूर्णताले सैनामैना अब्बल बन्ने वताउनुभयो । सैनामैनालाई गर्व गर्न लायक पालिका बनाएको उल्लेख गर्दै कार्कीले नगरमा भए गरेका कार्य गतिविधि, वहुवर्षीय एवम् अन्य योजनाहरू अहिले प्रभावकारी रूपमा अगाडि बढेको बताउनुभयो ।

आगामी पाँच वर्षमा सैनामैनालाई नमुना पालिका बनाउने कार्कीको प्रतिबद्धता छ । वर्तमान उपप्रमुख एवम् उपमेयरका उम्मेदवार बिना रानाले पाँच वर्षको अनुभवले काममा सहजता आउने बताउँदै आगामी दिनमा नयाँ योजनासहित उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले न्यायिक अभ्यास, अनुगमनको प्रभावकारिता र योजना छनौटमा महिलाको सुनिश्चित सहभागिता जस्ता महत्वपूर्ण विषयमा सैनामैनाले अनुकरणीय काम गरेको वताउनुभयो । एमालेका नगर कमिटी अध्यक्ष चेतनारायण न्यौपानेले प्रष्ट योजना, सोंच, लक्ष्य र प्रतिवद्धतासहित एमालेले ११ वटै वडामा उम्मेदवार प्रस्तुत गरेको र जित्ने आधार समेत सुनिश्चित गरिएको वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस