पुनर्वासमा फर्जी मत भेटिएपछि उत्पन्न विवाद मिलेन, मतदान स्थगित

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० को मतदान प्रक्रिया स्थगित भएको छ।सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रिया स्थगित गरिएको पुनर्वासकी मुख्य निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिइन्।

पुनर्वास–१० स्थित विजय माध्यमिक विद्यालयको मतदानस्थलमा फर्जी मतदाताबाट मतदान गरेको भेटिए पछि दिउँसो १२ बजेदेखि विवाद उत्पन्न भएको थियो। त्यसपछि मतदान रोकिएको थियो।

सहमति जुटाउन बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि मतदान स्थगित भएको निर्वाचन अधिकृत जोशीले जानकारी दिइन्।‘आज सहमति नजुट्नाले मतदान हुन सकेन,’ उनले नेपालखबरसँग भनिन्, ‘अब आयोगको निर्देशन अनुसार हामी अगाडि बढ्छौँ।’

सो मतदानस्थलमा कूल ३ हजार १५ मतदाता छन्। विवाद हुनुपूर्वसम्म करिब ८ सय मत खसेका निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस