महानगरपालिकामा गठबन्धनका दलबीच एकअर्कालाई धोकाधढी!

काठमाडौं स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए ।

महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए । गठबन्धनमा सत्तामा सहभागी नभएको राष्ट्रिय जनमोर्चा पनि सहभागी थियो ।

गठबन्धनमा रहेका दलमध्ये कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख, माओवादीलाई भरतपुर महानगरपालिकाको प्रमुख, एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको प्रमुख र जसपालाई वीरगन्ज महानगरपालिकाको प्रमुख भाग लगाइएको थियो ।

यस्तै, कांग्रेसको भागमा वीरगन्ज, पोखरा र भरतपुरको उपप्रमुख, माओवादीको भागमा ललितपुरको उपप्रमुख, एकीकृत समाजवादीको भागमा काठमाडौंको उपप्रमुख र जसपाको भागमा विराटनगरको उपप्रमुख परेको थियो ।

गठबन्धनले सहमतिअनुसार उम्मेदवारी दिए र गत वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ । अहिले निर्वाचनको परिणामहरू आउन थालेको छ ।

हालसम्मको मतगणनाले गठबन्धन गरी उम्मेदवारी दिइएको महानगरपालिकाहरूमा गठबन्धनका दलहरू एकआपसमा इमान्दार नभएको देखाएको छ । हरेक महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका दुई भिन्न दलका उम्मेदवार रहेका थिए तर उनीहरूले प्राप्त गरेको मतमा भने निकै ठूलो अन्तर देखिएको छ ।

काठमाडौं महानगरपालिकामा कांग्रेसले प्रमुखमा सिर्जना श्रेष्ठ र एकीकृत समाजवादीले उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उठाएको थियो । हालसम्मको मतगणनाअनुसार सिर्जनाले ५ हजार ११४ मत प्राप्त गरेकी छन् भने रामेश्वरले ३ हजार ४८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस