गठबन्धनमा मत कम आउनुमा संगठन कमजोर : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरुको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुग्नुभएका कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दलहरु पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु भएको बताउनुभएको हो । उहाँले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा पनि गाह्रो भएको बताउनुभयो ।

पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा भोट हाल्न आव्हान गरेको भएपनि कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित मतदाता नभएकाले कतिपयले नमानेको उहाँले बताउनुभयो । उहाँले गठबन्धनको अहिलेको मत परिणाम स्वभाविक भएको उल्लेख गर्नुभयो ।

गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिदा कांग्रेसको जित सहज भएको उहाँको विश्लेषण छ ।

महामन्त्री थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले मत पाएको बताउनुभयो । आगामी दिनमा पार्टीहरुले उम्मेदवार छान्ने तरिका र नयाँ मान्छेहरुलाई पार्टीमा लिएर आउने कुराहरुमा उदार भएमा पार्टीहरुका लागि यस्तो परिणाम नआउने उहाँले बताउनुभयो । उहाँले प्राप्त मत परिणामबाट पार्टीहरुसँग काठमाडौं महानगरपालिकाका मतदाता सन्तुष्ट नभएको शन्देश आएको पनि बताउनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनको मत परिणामको सम्बन्धमा गठबन्धनका दलहरु बिचमा आ–आफ्नो पार्टी भित्र समिक्षा हुने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस