कांग्रेसको पत्तासाफ गर्न खोज्नेहरू आफै पत्तासाफ हुनेछन् : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कांग्रेसविरुद्धको अभिव्यक्तिको आलोचना गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले कांग्रेसको पत्तासाफ गर्नेहरू आफै साफ भएर जाने बताए ।

‘केही नेताहरूका कुरा हामीले सुनेका छौँ’, उनले भने, ‘चुनाव जितेपछि केही नेताहरू कांग्रेसको पनि पत्तासाफ गर्छौं भनेर भाषण गरेका सुनेका छौँ ।’

उनले भने, ‘हामीले पत्तासाफ गर्नुप¥यो भने राणा, राजा गरेका छौँ । त्यसपछि क–कसको पत्तासाफ हुन्छ हेर्दै जान्छौँ ।’

बुधबार प्रचण्डले कांग्रेसभित्र जितको अहँकार भएको भन्दै कांग्रेस नसुध्रिए एमालेकै हालत बनाइदिने चेतावनी दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिको खतिवडाले जवाफ दिएका हुन् ।

‘हामी एकता मेलमिलाप र सहकार्यको राजनीति गर्न चाहन्छौँ’, कांग्रेस नेता खवितडाले भने, ‘त्यही सहकार्य र मेलमिलापको राजनीतिले केही साथीहरू सत्तामा पुग्नुभएको छ ।’

नेता खतिवडाले भने, ‘कांग्रेसका सबै नेताहरू संयमतापूर्वक प्रस्तुत हुनुभएको छ । हामी यो गठबन्धनलाई चुनावसम्म मात्रै होइन लामो समयसम्म लिएर जान चाहन्छौँ ।’

केन्द्रमा शीर्ष नेताहरूले अगामी निर्वाचनमा पनि गठबन्धन गरेर जाने भनेर अभिव्यक्ति दिने गरेको बताएका उनले निर्वाचनमात्र नभई लामो समयसम्म गठबन्धन हुनुपर्ने बताए ।

ओखलढुंगामा कांग्रेसले विगतमा पनि जिल्ला समन्वय समिति बनाएको बताएका खतिवडाले भने, ‘अहिले पनि जिल्ला समन्वय समिति गठन गर्न सफल भएका छौँ ।’

ओखलढुंगामा कांग्रेस ६ हजार मतले अगाडि रहेको बताएका छन् । उनले प्रतिनिधि सभाको आगामी निर्वाचनमा कांग्रेस १० हजार मतले जित्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस