जेलबाटै रेशम चौधरीको दाबी- टीकापुर घटनाका दोषीलाई राज्यले नै जोगाएको छ

कैलाली । टीकापुर घटनामा अदालतबाट सजाय पाएर डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले आफू दोषी नभएको प्रष्टीकरण दिएका छन् । उनले घटनाको वास्तविकता राज्यलाई नै थाहा भएको समेत दाबी गरेका छन् ।

चौधरीपत्नी रन्जिता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठाउँदा ।’

रन्जिता नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष पनि हुन् । रेशम चौधरीले लेखेर दिएको भनाइ आफूले सामाजिक सञ्जालमा लेखेको उनको भनाइ छ ।

२०७२ साल भदौ ७ मा विरोध प्रदर्शन हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । घटनामा एक बालकको पनि मृत्यु भएको थियो ।

सो घटनामा सांसद रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । उनी अहिले निलम्बित छन् । तर, रेशम चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस