‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को नारासहित मेयर बालेन्द्रको पहिलो नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

उनले आफ्नो नीति तथा कार्यक्रममा चुनावअघि गरेका प्रतिवद्धताहरुलाई स्थान दिएका छन् भने अन्य दल र उपमेयर सुनिता डंगोलका योजनाहरूलाई पनि समेटेका छन् ।

‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ । काठमाडौंको फोहोर व्यवस्थापन नै महानगरको प्रस्थानविन्दू बनेको नीति कार्यक्रममा उल्लेख छ । संस्कृति र सम्पदाको जगेर्नालाई नीति कार्यक्रमले जोड दिएको छ । मेयर बालेन्द्रबाट अपेक्षा गरिएका नवीनतम खालका ‘गेमचेञ्जर’ कार्यक्रमहरू भने नीति कार्यक्रममा भेटिँदैनन् ।

‘सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोग गर्न अनिवार्य छ,’ नीति कार्यक्रममा भनिएको छ, ‘स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरण विकास गरी काठमाडौँलाई बस्न योग्य सहर बनाउने हाम्रो ध्येय रहेको छ ।’

मेयर साहले नीति कार्यक्रमका पाँच वटा रणनीति र उद्देश्य रहेको प्रस्ट पारेका छन्, जुन यस प्रकार छन्:

१.काठमाडौँको संस्कृति र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने,

२.आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने,

३.सांस्कृतिक पर्यटन, नव प्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गर्ने,

४.स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने,

५. काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने

प्रतिक्रिया दिनुहोस