फेरि प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने सपना छ : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताउनुभएको हो ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढने बताउनुभयो ।

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गर्नुभयो ।

अध्यक्ष दाहालले मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्याम भएको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन बोर्डको पुनर्संरचना तत्काल गर्न सरकारसँग माग गर्नुभयो । उहाँले पर्यटन क्षेत्रलाई उद्योगको रुपका विकास गरी त्यसलाई सहुलियत दिन पनि सरकारसँग पहल गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक आग्रह गर्नुभयो ।

उपाध्यक्ष रिजालले नेपाल पर्वतारोहण संघलाई अल्पाईन क्लवको रुपमा विकास गर्न पनि सरकार जिम्मेवार भएर प्रस्तुत हुन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस