पानीपुरी र चटपट बनाउन प्रयोग गरिएको पानीमा फोहोर भेटिएको भन्दै ललितपुर महानगरभित्र आजदेखि पानीपुरी र चटपटे बेच्न नपाइने

ललितपुर महानगरपालिकाभित्र आजदेखि पानीपुरी र चटपटे बेच्न रोक लगाइएको छ। पानीपुरी र चटपटे बनाउन प्रयोग गरिएको पानीमा फोहोर भेटिएको भन्दै महानगरपालिकाले यी खानेकुरा बेच्न प्रतिबन्ध लगाएको हो।

महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेंथूका अनुसार सडक किनार र गल्लीहरूमा बेच्न राखिएको पानीपुरी र चटपटेमा प्रयोग गरिएको पानी दूषित भेटिएको छ। फोहोर पानीको प्रयोगले हैजा तथा झाडापखालाजन्य रोग लाग्ने भन्दै पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध लगाइएको हो।

‘सडक किनार र गल्लीहरूमा राखिएका पानीपुरी र चटपटे पसल निकै फोहोर रहेको पाइयो,’ हाछेंथूले भने, ‘सडकको धुलो त छँदै छ, त्यसबाहेक उनीहरूले प्रयोग गर्ने पानीसमेत फोहोर रहेछ।’ उनका अनुसार जारको पानी भन्दै धारा तथा इनारको पानी प्रयोग गरेको भेटिएको छ। त्यसरी फोहोर पानीपुरी र चटपटे बेच्नेहरूमाथि महानगरले आजदेखि कारबाही थालेको हो।

प्रतिक्रिया दिनुहोस