यसपालिको रोपाइँमा पनि अस्मिता जुरेलीमाथि दुर्व्यवहार, अपरिचित पुरुषले हिलोमा पछारेपछि विवाद

काठमाडौं । गत वर्षको असार १५ मा दोहोरी गायक छत्र साउदसँग हिलोमा डुबुल्की मारेर भाइरल बनिन् रेस्लर अस्मिता जुरेली ।

धेरैले उनलाई रोपाइँका नाममा उच्छृङ्खलता देखाएको भनेर आलोचना समेत गरे । यद्यपि, उक्त घटनामा छत्रले एकाएक अस्मितालाई समातेर हिलोमा पछारेका थिए ।

यसपालिको रोपाइँमा पनि उनीमाथि फेरि गलत हरकत भएको छ । युवा संघले आयोजना गरेको रोपाइँ कार्यक्रममा भाग लिन उनी भैंसेपाटी पुगेकी थिइन् ।

एमालेका महासचिव शंकर पोखरेल प्रमुख अतिथि थिए भने युवा नेता महेश बस्नेतको पनि सहभागिता थियो ।

रोपाइँ कार्यक्रममा रमाइरहेका बेला एक अपरिचित पुरुषले आफूलाई एक्कासि कम्मरमा समातेर हिलोमा पछारेको अस्मिताले बताइन् ।

‘म आफ्नै धुनमा थिएँ, एक जना चिन्दै नचिनेको व्यक्तिले बलपूर्वक समातेर हिलोमा लडाएपछि स्तब्ध भएँ,’ उनले सुनाइन् ।

ती व्यक्तिले आफूलाई गलत नियतका साथ हातपात गरेको अस्मिताको आरोप छ ।

‘म रोपाइँ उत्सवमा रमाइलो गर्न गएकी थिएँ, तर युवा संगठनकै एक व्यक्तिबाट दुर्व्यवहारको शिकार भएँ,’ उनले भनिन् ।

लडाए लगत्तै अस्मिताले प्रतिकारको प्रयास गरेकी थिइन् । तर, ती पुरुषले आफूलाई हात र घाँटीमा अँठ्याएको तथा कपडासमेत च्यातिदिएको उनको आरोप छ ।

सार्वजनिक भएको एक भिडियोमा एक बलिष्ठ पुरुषसँग अस्मिताले टकराब गरिरहेको देखिन्छ । उनले पुरुषको कपडा तानेकी छन् भने पुरुषले उनलाई बलियोसँग अँठ्याएका छन् ।

उनीहरुबीच घम्साघम्सी परेपछि युवासंघका अन्य व्यक्तिहरू आएर छुट्याएका थिए ।

सो घटना हुँदा प्रमुख अतिथि पोखरेल हिँडिसकेका थिए । महेश बस्नेत पछि थिएनन् । अभिनेत्री करिश्मा मानन्धर पनि उक्त रोपाइँमा सहभागी थिइन् । घटना हुँदा उनी पनि त्यहीँ उपस्थित रहेको जुरेलीको दाबी छ ।

आफूमाथि दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाहीमा जान सक्ने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस