अर्जेन्टिनाले विश्वकप जित्ने एमाले नेता सुवास नेम्वाङको विश्वास

काठमाडौं । पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् ।

एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका समर्थक हुन् ।

शुक्रवार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्वाङले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वास रहेको बताए ।

‘यो वर्ष अर्जेन्टिनाले, मेस्सी विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।’ नेम्वाङले भने ।

यस्तै उनले विश्वकप आफ्नो घरमा या सकेसम्म कतारमै पुगेर हेर्न सुझाएका छन् । ‘कतारमा चार महिना पछि हुने फुटबल तपाई हामी, आ–आफ्नो घरमा बसेर होस् या यही बसेर होस् । सकिएछ भने कतार पुगेर होस्, हेरौला ।’

यस्तै उनले आफू अहिले खेल्ने अवस्थामा नरहे पनि राति उठेर युरोपेली लिग हेर्दै आएको बताउँदै हाल मेस्सी बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) गएकाले बार्सिलोना भन्दा पीएसजीको खेल हेर्न थालेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस