धुर्मुस–सुन्तली द्धारा अलपत्र पारिएको रंगशाला निर्माण गर्न मेयर दाहालको माग

काठमाडौं—चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अलपत्र अवस्थामा रहेको अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न संघीय सरकारसँग माग गरेकी छन् ।मंगलवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मेयर दाहालले रंगशाला निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गरेकी हुन् ।

उक्त रंगशालाको निर्माण कार्य कलाकारहरू सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले शुरू गरेको थियो । फाण्डेसनले विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहयोग रकम संकलन गरेर अघि बढाएको निर्माण कार्य हाल रोकिएको छ ।

आर्थिक संकट र केही विवादका कारण ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले रंगशाला निर्माणबाट हात झिकेपछि अलपत्र परेको हो । उक्त क्रिकेट रंगाशालाको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको मेयर दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा मेयर दाहालले चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरूमा छलफल गरेकी थिइन् । उनले भरतपुर एअरपोर्ट विस्तार, माडी क्षेत्रको भूमिगत विद्युतीकरण, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायतका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले ती कामहरू अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको मेयर दाहालको सचिवालयले जनाएको छ ।भेटमा मेयर दाहालका पिता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्यसचिव शंकरदास वैरागी, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस