ओली भन्छन्- घाँसी कविता भानुभक्तले लेखेकोमा शंका गर्ने ठाउँ छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चर्चित ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै लेखेकोमा शंका व्यक्त गरेका छन् । भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा उनले यो कविता मोतीराम भट्टले लेखेको हुन सक्ने आशय प्रकट गरे ।

ओलीले भने, ‘घाँसी कवितामा शंका गर्ने ठाउँ छ । तनहुँको घाँसी कुवाको आसपासमा घाँसी भएर काम गर्ने प्रचलन थियो कि थिएन ? घाँसी शब्द त्यहाँ थियो कि थिएन ? घाँस काटेर बेच्ने काम त त्यति बेला शहरबजारमा हुने हो । गाई पाल्ने, घोडा पाल्ने बनारस जस्तो ठाउँमा चल्ने कुरा हो ।’

उनले थपे, ‘भानुभक्तले वर पिपलको छायाँमा बसेर घाँसी लेखे कि बनारसमा मोतीराम भट्टले लेखे शंका गर्ने ठाउँ छ । भानुभक्तका धेरै रचनाको संकलन मोतीराम भट्टमार्फत भएको छ । मोतीरामले भानुभक्तलाई समीक्षात्मक दृष्टिले भन्दा पनि गुरु भक्तिको दृष्टिले हेर्थे । परम गुरु मान्थे । त्यसैले मोतीरामका रचना गुरुभक्तिवादबाट बढी निर्देशित पाइन्छ ।’

ओलीले भानुभक्तको सबैभन्दा ठूलो योगदान रामायणको अनुवाद भएको बताए ।उनले भने, ‘उनको महत्त्वपूर्ण कुरा भनेको रामायणको अनुवाद । यो चैँ भानुभक्त आफैँले गरेको हो । यसको रचना केही तनहुँमा भयो केही जेलमा भयो ।’

प्रतिक्रिया दिनुहोस