टमाटर बेच्दै गरेकी महिलाको घाँटीबाट ३ तोला भन्दा बढिको सुनको सिक्री चोरी गरेर भागे ११ वर्षीय बालक

रुपन्देहीमा सुनको सिक्री चोरीका घटनाका नाबालकको प्रयोग भएको पाइएको छ ।सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका–४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् ।

रुपन्देही कञ्चन गाउँपालिका–४ बनकसियास्थित आइतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री दुई जना नाबालकहरुले आइतबार दिउँसो चोरी गरेर भागेका थिए ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका–४ बनकसिया डिहोमा लुकि छिपी हिँडिरहेको अवस्थामा चोरी भएको सुनको सिक्रीसहित फेला पारी नियन्त्रणमा लिएको हो ।थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धनाको क्रममा विजयले करिब एक महिना अघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका–४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि सिकाएको खुलेको छ ।उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस