नेपाल समाचारपत्र र हिमालय टिभीलाई कारबाही गर्न मेयर बालेनले दिए काउन्सिलमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको भन्दै नेपाल समाचारपत्र र हिमालय टेलिभिजनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन् ।

२०७९/८० को बजेट कुनै आमुक संस्थालाई उपलब्ध गराउन लागेको भन्ने समाचार सम्प्रेषण गराउने नेपाल समाचारपत्र र हिमालय टेलिभिजनमाथि पत्रकार आचारसंहिता २०७३ (संशोधित २०७६ सहित) को दफा ७ बमोजिम कारबाही गर्न साउन १ गते काउन्सिल पुगेर मेयर बालेनले उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा भनिएको छ, ‘नेपाल समाचारपत्र र हिमालय टेलिभिजन काठमाडौं महानगरपालिकाले अमुक संस्थालाई अनुदान दिने उद्धेश्यले बजेट विनियोजन गरेको भन्ने भ्रामक र तथ्यहीन समाचार प्रकाशन र प्रशारण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६ सहित) को दफा ४ बमोजिम कर्तव्य पालना नगरेको देखिएकोले सोही आचार संहिताको दफा ७ बमोजिम नेपाल समाचारपत्र र हिमालय टेलिभिजनलाई क्षतिपूर्तिसहितको कारबाही माग गर्दछु ।’

यसैगरी मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पनि मेयर बालेनले भ्रामक समाचार सम्प्रेषण गर्ने सञ्चार संस्थालाई कारबाही गर्न उजुरी दर्ता गरिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘सत्य कुरा हो, कुनै पनि पत्रकार र मिडिया सार्वजनिक पद वा सत्ताको प्रतिपक्षी हुनु पर्छ, अख्तियारको दुरुपयोग भएको छ कि वा ति संस्थाहरुले गलत काम गरेका छन् कि भन्ने भन्नेमा सजग रहेर जनमानसमा सूचना दिनु पर्छ । लोकतन्त्रको चौथो आधारस्तम्भका रुपमा पत्रकारितालाई हामी सँधै सम्मान गर्छौँ । सँगसँगै यो पनि भन्न चाहन्छौँ कि पुर्वाग्रहपुर्ण प्रतिपक्ष र भ्रामक सूचनाले पत्रकारिताको गरिमा र महत्वलाई स्थापित गर्न सक्दैन ।

लोकतन्त्र र कानुनको पालना सबैले गर्नु पर्छ । यसैले केहि पहिले आएका भ्रामक समाचारहरुका लागि कानुन बमोजिम कारबाहीको गर्न प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छौँ । आशा छ, आगामी दिनहरुमा पत्रकारिताले सहि र सत्य सूचना, समाचार मात्रै सम्प्रेषण गर्नेछ । नागरिकको सूचनाको हकलाई प्रदुषित गर्ने कार्यका विरुद्ध पत्रकारिताक्षेत्र नै जागरुक र सचेत हुनेछ ।’’

प्रतिक्रिया दिनुहोस