सत्ता गठबन्धन कायम राख्दै बाम एकताका निम्ति पहल गर्ने निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ३२औँ बैठकले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै बाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले सङ्गठन सुदृढ़ीकरण अभियान तदारुकताका साथ आगाडि बढाउने निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो ।

बैठकले गत असार १३ र १४ गते सम्पन्न केन्द्रीय परिषद्को प्रथम बैठकबाट पारित कार्ययोजना कार्यान्वन गर्ने सम्बन्धमा छलफल गरी समाजवादसम्बन्धी दस्तावेजका साथै वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।

पार्टीले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताप्रति थप उतरदायी बनाउन यही साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने भएको छ ।

शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने पार्टी केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस