यी आमाछोरीले २५ हजारमा थालेको ‘पहिलो पाइला’, महिनामा ३ लाखको कारोबार

निर्मला घिमिरे सेतोपाटी – लगानी र व्यवसाय सानै सही, उत्साह र लगनले काम गर्दा सफलताको बाटोतर्फ जान सकिन्छ भन्ने दृष्टान्त हुन् आमाछोरी कृष्णकुमारी र चाँदनी श्रेष्ठ।काठमाडौं, बालाजुकी कृष्णकुमारी श्रेष्ठ ५३ वर्षकी भइन्। उनले केही वर्ष सिलाइ व्यवसाय चलाइन्। सिलाइको काम घरबाटै गर्थिन्। बिहे र छोराछोरी जन्मिएपछि फुर्सद निकाल्न कठिन भयो। व्यवसाय छाडेर दुई दशकभन्दा लामो समय घरायसी काममै बिताइन्।

कृष्णकुमारीले विगत स्मरण गरिन्, ‘दुइटा बच्चा भएपछि घरकै काम भ्याइएन। घर पनि बनाइयो। अनि काम त चटक्कै छाड्नु पर्‍यो।’ काम छाडे पनि लुगा सिउने मेसिन घरमै थन्किएको थियो। छोराछोरी हुर्किएर ठूला भए। थन्किएको मेसिन फेरि चलाउने जाँगर चलेको थिएन।

एक दिन उनकी छोरी चाँदनीले साथीको बच्चा जन्मेको खुसीमा उपहार दिने कुरा गरिन्। कृष्णकुमारीले आफ्नै मेसिनमा दौराभोटो तयार गरिदिइन्। साथीलाई त्यो लुगा साह्रै मन पर्‍यो। चाँदनी पनि आमाको सीप देखेर दंग परिन्। आफ्नी आमाले यति राम्ररी सिलाउन सक्छिन् भन्ने चाँदनीलाई थाहै थिएन। उनले आमाको सीप व्यवसायका रूपमा अघि बढाउन सके राम्रो हुन्थ्यो होला भन्ने सोचिन्।

सेतोपाटीसँग कुरा गर्दै चाँदनीले भनिन्, ‘आमाले कस्तो राम्रो ९लुगा० बनाउनु हुँदो रहेछ१ यसलाई व्यवसायका रूपमा अघि बढाउन सके राम्रो हुन्छ भन्ने सोच आयो।’

कोभिड–१९ का कारण लकडाउनको समय थियो। चाँदनी फुर्सदमा थिइन्। उनले त्यही बेला आमाको सीपलाई ब्रान्ड बनाउने योजना तयार गरिन्। घरसल्लाह भयो। ब्रान्डको नाम राखियो ‘पहिलो पाइला’।

कृष्णकुमारीले आफ्नो ब्रान्डको यसरी अर्थ लगाइन्, ‘बच्चा जन्मिनु भनेको जिन्दगीको पहिलो पाइला टेक्नु हो। नवजात शिशुका लागि बच्चाका लुगा बनाउने भएकाले पहिलो पाइला नाम राख्यौं।’

पुरानै भए पनि लुगा सिउन घरमा एउटा मेसिन छँदै थियो। उनीहरूले कपडा, धागो र अन्य अत्यावश्यक सामग्री जुटाए। यसमा पहिलो चरणमा २५ हजार रूपैयाँ खर्च भयो। घरायसी काम सकेर फुर्सदमा आमा कृष्णकुमारीले सिलाइको काम थालिन्। छोरी चाँदनी बजार प्रबन्धतिर लागिन्।

चाँदनीले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा शिशुका लुगाको प्रचार सामग्री राखिन्। लगत्तै अर्डर आउन थाल्यो। चिनजानका मान्छेले फोन गरेरै मगाउन थाले। दिनदिनै माग बढ्दै गयो। व्यापार राम्रो हुँदै आयो।

पहिलो पाइलाले लुगासँगै शिशु र बालबालिकाका लागि तोरीको सिरानी, कपासको डसना र कपासकै ब्ल्यांकेट पनि बनाउँछ। केटाकेटीका लागि सामान्य तथा पास्नी सेट लुगाका साथै सांस्कृतिक वेशभूषा पनि बनाउँछन्। सांस्कृतिकतर्फ राधाकृष्ण सेट, नेवारी, तामाङ लगायत समुदायका लुगा बनाउने गरेको कृष्णकुमारीले बताइन्।

कपडा र लुगाको प्रकारअनुसार मूल्य तय गरिएको छ। ‘बच्चाका कपडाको गुणस्तर राम्रो हुनुपर्छ। हामी गुणस्तरीय कपडा प्रयोग गर्छौं, हाम्रो सिलाइ पनि राम्रो छ,’ कृष्णकुमारी भन्छिन्, ‘मूल्य केही महँगो जस्तो भए पनि मेहनत अनुसार हामीले सहुलियत दिएका छौं।’

पहिलो पाइलाले तयार गर्ने लुगाको डिजाइन पनि राम्रो हुने उनको भनाइ छ। भन्छिन्, ‘सबैतिर सिलाइ राम्रो हुँदैन। हामीले बुटिक डिजाइन दिएका छौं।’

कृष्णकुमारीकी छोरी चाँदनी पर्यटनसम्बन्धी विषयमा स्नातक तहमा अध्ययनरत छिन्। उनी पहिलो पाइलाका लागि ग्राहकको अर्डर लिन्छिन्, गुनासो सुन्छिन् र डेलिभरीको व्यवस्था गर्छिन्। भन्छिन्, ‘कहिलेकाहीँ ससाना गुनासाहरू आउँछन्। केही कमजोरी छ भने सुधार्ने प्रयास गर्छौं।’

पच्चीस हजार रूपैयाँ लगानी गरेर दुई वर्षअघि सुरू पहिलो पाइलाले अहिले मासिक तीन लाख रूपैयाँको लुगा बेच्ने गरेको चाँदनीले बताइ। पहिलो पाइलाको सफलताले चाँदनी उत्साहित छन्। उनी स्वदेशमै राम्रो व्यवसाय गर्न चाहिन्छन्। पहिलो पाइला विस्तार गर्दै उद्योगसम्म पुग्ने उनको सोच छ। भन्छिन्, ‘आफ्नो एउटा उद्योग पनि होओस् र रोजगारी दिन सकूँ भन्ने सोच छ।’

प्रतिक्रिया दिनुहोस