विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु आयात गर्न छोड्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिनुभएको छ ।

आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरु स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले मुलुकले धान्न नसक्ने गरी बढीरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति सुस्त बन्दै गइरहेकोले कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले स्वदेशमा नै उत्पादन भएका वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिष्पर्धामा सहयोग पु¥याउन र यसतिर लगानी केन्द्रित गर्न आग्रह गर्नुभयो । कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी यस क्षेत्रको विकासमार्फत आर्थिक वृद्धिको जड बलियो बनाउनु र मुलुकको गरिबी तथा आर्थिक असमानता हटाउनुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योग भन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी उत्पादन हुनेगरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरुहरुमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस