पृथ्वीलाई बचाउन क्षुद्रग्रहसँग अन्तरीक्ष यान ठोक्काउँदै नासा

३० साउन, काठमाडौं । हरेक महिनाजसो क्षुद्रग्रहहरु पृथ्वीको नजिक आइरहेको भन्ने खालका समाचारहरु आइरहेका हुन्छन् । यस्ता क्षुद्रग्रहहरु कहिले पृथ्वीको नजिकै आएर जान्छन् त कहिले अलिक टाढाबाटै पार हुने गरेका छन् । तर पृथ्वीलाई वास्तविक खतरा यदि कुनै वस्तुबाट छ भने त्यो क्षुद्रग्रह नै हो ।

यदि कुनै क्षुद्रग्रह पृथ्वीतर्फ आइरहेको छ र त्यसको दिशामा परिवर्तन भएन भने प्रलय आउने कुरा अवस्यम्भावी हुन्छ । यस्तै क्षुद्रग्रहलाई दूर राख्नका लागि वा उसको दिशा परिवर्तन गराएर संकट टार्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासाले गतवर्ष डार्ट मिसनको घोषणा गरेको थियो । नासाले घोषणा गरेको उक्त मिसन अन्तरगत आगामी महिना सेप्टेम्बरमा नासाको एक यान क्षुद्रग्रहसँग ठक्कर खानेछ र क्षुद्रग्रहको दिशा बदलिनेछ ।

पृथ्वीलाई क्षुद्रग्रहको हमलाबाट बँचाउनका लागि यो अन्तरीक्षयान सुदूर अन्तरीक्षमा परिक्रमा गरिरहेको एक क्षुद्रग्रहसँग ठोक्किनेछ । त्यसरी यानलाई क्षुद्रग्रहसँग ठोक्काउनुको एकमात्र उद्धेश्य चाहीँ त्यसरी ठोक्किँदा क्षुद्रग्रहको दिशामा परिवर्तन आउँछ कि आउँदैन भनेर जान्नु नै हो ।

उक्त यान २३ हजार ७६० किलोमिटर प्रतिघण्टाको वेगमा क्षुद्रग्रहसँग ठोक्किनेछ । त्यसक्रममा क्षुद्रग्रहको दिशामा हुने सम्भावित परिवर्तनलाई रेकर्ड गर्ने योजना छ । क्षुद्रग्रहको दिशामा हुनसक्ने सम्भावित परिवर्तनसँगै टक्करबाट क्षुद्रग्रहको वातावरण, धातु, धुलो, माटो आदिको पनि अध्ययन गरिनेछ । नासाले यान ठोक्काउन लागेको क्षुद्रग्रहको नाम डिडिमोस हो ।

नासाको उक्त मिसनको नाम डबल एस्टेरोइड रिडाइरेक्सन टेस्ट अर्थात् म्ब्च्त् हो । यो कार्य काइनेटिक इम्प्याक्टर टेक्निक नामक प्रविधिबाट गरिनेछ । पृथ्वीतर्फ आइरहेका क्षुद्रग्रहलाई यानसँग ठोक्काएर तिनीहरुको दिशामा परिवर्तन गराउने र पृथ्वीमा आउनसक्ने संकट टार्ने यो मिसनको उद्देश्य हो ।

नासाले यान ठोक्काउन लागेको डिडिमोस क्षुद्रग्रहको व्यास २६०० फिट छ । यसको चारैतर्फ एउटा सानो चन्द्रमा जस्तो पत्थरले परिक्रमा गरिरहेको छ । उक्त चन्द्रमाको नाम डाइमर्फोस हो । यानको टक्कर त्यसैसँग हुनेछ ।

उक्त पत्थरको व्यास ५२५ फिट रहेको छ । नासाले त्यो सानो उपग्रहजस्तो पत्थरलाई निसाना बनाउनेछ । जुन पछि डिडिमोससँग ठोक्किनेछ । त्यसपछि दुबैको गतिमा हुने परिवर्तनको अध्ययन पृथ्वीमा रहेको टेलिस्कोपबाट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस