८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब आम्दानी : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग विजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गर्नुभएको छ ।

आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो ।

उहाँले चालु आर्थिक वर्षमा भारतबाट आयात हुने भन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताउनुभएको हो । घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताउनुभयो । उहाँले कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षकै आगामी थप जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात हुने बताउनुभयो ।

घिसिङले अहिले रातिको समयमा केही घण्टामा प्रतियुनिट १२ भारतीय रुपैयाँ र औसतमा प्रतियुनिट रेट ६ भारतीय रुपैयाँसम्म रहेको बताउनुभयो । घिसिङले पछिल्लो समय नेपालमा पनि विद्युतको माग अत्याधिक रहेको बताउनुभयो । उहाँले अहिले उत्पादन भएको १०० प्रतिशत विद्युत खपत भइरहेको पनि बताउनुभयो । उहाँले विद्युत खपत २५ प्रतिशतले बढ्दै गएकाले आगामी वर्ष पनि २५ प्रतिशतले विद्युत खपत बढ्ने दाबी गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भविष्यमा नेपालको विद्युत जनतालाई निःशुल्क दिन सकिने बताउनुभयो । उहाँले आगामी केही बर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै सबैले विद्युत महशुल तिर्नुपर्ने बताउनुभयो । घिसिङले तत्कालको लागि उद्योगहरुलाई डिमाण्ड शुल्क छुट दिन नसकिने संकेत गर्नुभयो । उहाँले सरकारले कोभिड लगायतका कारणले छुट दिएको बताउनुभयो । उहाँले अहिलेसम्म करिव ९३ प्रतिशत विद्युतको पहुँच पुगेको बताउनु भयो आगामी २ वर्षमा सरकारले शतप्रतिशत विद्युतको पहुँच पु¥याउन लक्ष्य सरकारले लिएको उहाँको भनाई छ । घिसिङले गुणस्तर र विश्वसनीयता बढायो भने विद्युत खपत बढ्ने भन्दै सरकारले अहिले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय कुनैपनि क्षेत्रले मूल्य नघटाएको अवस्थामा पनि विद्युत प्राधिकरणले मूल्य घटाएको बताउनुभयो । घिसिङले गत आर्थिक वर्षमा विद्युत महशुल बढाएर नभई घटाएर भएपनि १६ अर्ब रुपैयाँ नाफा गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस