मुलुक बनाउन कर्मचारीको हात छ : प्रधानमन्त्री देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । उहाँले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताउनभुयो । उहाँले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राख्नुभयो । “हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो”, उहाँले भन्नुभयो, “तर कर्मचारी ९तपाई०हरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।” उहाँले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताउनुभयो । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रुपमा हुनुपर्ने बताउनुभयो । उहाँले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताउनुभयो ।

“ जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ”, उहाँले भन्नुभयो, “एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ । ” उहाँले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताउनुभयो । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उहाँको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस