आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछु : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ ।

बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूर्ण जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्‍याउने दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताउनुभयो । उहाँले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबी गर्नुभयो । उहाँले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस