चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फिर्ता

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ ।

चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गर्नुभयो । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

उहाँ सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको थियो । चार दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय विभिन्न भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस