संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख

नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । दुई÷दुई पटक विघटन भएर पनि सर्वोच्च अदालतको आदेशपछि सदनले पूरा कार्यकाल पूरा गरेको छ ।

सुरुआती दिनमा भन्दा पनि पछिल्ला दिनमा प्रतिनिधिसभाले जनपक्षीय काम गरेको चर्चा भइरहेको छ । बजेट अधिवेशनमा नै ३० वटा विधेयक पारित भएको छ ।

यसैक्रममा चिनियाँ जनकंग्रेसका अध्यक्षको नेपाल भ्रमणसमेत सम्पन्न भएको छ । ऐतिहासिक राष्ट्रिय एकता कायम गरेर संविधान संशोधनमार्फत सोही सदनले नेपालको चुच्चे नक्सा जारी गरेको छ ।

प्रतिनिधिसभाको पछिल्लो कार्यकाल, यसले निर्वाह गरेको भूमिका तथा सङ्घीय सदनको नेतृत्वका हिसाबले निर्वाह गरेको भूमिकालगायतका विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाताद्वय रमेश लम्साल र अशोक घिमिरेले गर्नुभएको अन्तरर्वार्ताको सम्पादित अंश :

नेपालको संविधान जारी भएपछि गठन भएको प्रतिनिधिसभाको अधिवेशन शनिबार मध्यरातदेखि सकिएको छ । संसद््को नेतृत्वका आधारमा यहाँले यो संसद््को कार्यकाल र भूमिकालाई कसरी लिनुहुन्छ ?

यो कार्यकाल धेरै उतार चढावपूर्ण रह्यो । समस्या र चुनौतीहरु खडा भए । तर ती चुनौती र समस्यालाई सामना पनि भयो । समग्रमा यो कार्यकाल चुनौती र समस्याका बाबजुद सफल भयो भन्ने लाग्छ । प्रतिकूल परिस्थितिका बीचबाट पनि संसद््ले आफ्नो काम कारबाही अगाडि बढायो । विश्वव्यापीरुपमा देखापरेको कोरोना महामारी, राजनीतिक सङ्कट र जलवायु परिवर्तनको सङ्कटलाई झेल्दै प्रतिनिधिसभाले आफ्ना कामममा महत्वपूर्ण सफलता हासिल गरेको छ ।

संसद्् बैठक अन्त्यपछि यहाँले भविश्यका लागि वर्तमान प्रतिनिधिसभाले दिएको सन्देश स्मरणीय रहनेछ भन्नुभयो । यहाँले के भन्न खोज्नुभएको हो ?

थुप्रै समस्या र चुनौतीका बीच यो प्रतिनिधिसभाको कार्यकाल गौरवपूर्ण रह्यो । दुई÷दुई पटक प्रतिनिधिसभा विघटन र पुनःस्थापना भयो । यस अर्थमा संविधान र व्यवस्थाको रक्षा भएको छ । हामीले नियमित प्रक्रियाबाट सबै विषय अगाडि बढाएका छौँ । निर्वाचनको घोषणा भएको छ । समस्या र चुनौती आए पनि समाधान गर्न सकिन्छ भन्ने कुरा पछिल्लो ११औँ अधिवेशनमा मिलेको सफलताले पुष्टि गर्छ ।

प्रतिक्रिया दिनुहोस