जन्तीको भिड देखेर माइतीको होस उड्यो, कार्ड हेरेर खाना दिए, धेरै भोकै फर्किए

काठमाडौं । डाकेको भन्दा धेरै जन्ती आएपछि तनाव भएको छ । भारत, उत्तर प्रदेश, अमरोहाको आदमपुर थाना क्षेत्रको एउटा गाउँबाट हसनपुरमा जन्ती पुगेका थिए ।

तर खाना खाने समयमा पाहुनाको संख्या अनुमानभन्दा बढी भएपछि समस्या भयो । त्यसपछि बेहुलीको परिवारले दुलहा पक्षका ती व्यक्तिहरूलाई बैंक्वेट हलमा प्रवेश गर्न अनुमति दियो, जोसँग आधार कार्ड थियो ।

आधार कार्ड नभएका पाहुनाहरु भोज नखाई फर्किए । केही व्यक्तिले उक्त घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल गराएका हुन् ।

जानकारी अनुसार सेप्टेम्बर २१ मा हसनपुरको एउटा गाउँमा दुई छुट्टाछुट्टै जन्ती आएका थिए । तर जब खाना खाने कार्यक्रम सुरु भयो तब अर्को घरमा आएका पाहुना पनि भोज चलिरहेको ठाउँमा पुगे ।

जसकारण व्यवस्थापन चुनौतीपूर्ण भयो । पाहुनाको संख्या देखेर केटी पक्षका मानिसहरू रिसाए र खाना दिन बन्द गरे । त्यसपछि केटी पक्षले जन्तीसँग आधार कार्ड माग्न थाल्यो ।

आधार कार्ड भएकाहरु भोज हलमा प्रवेश गर्न पाएको बताइन्छ । सबैसँग आधार कार्ड नभएकाले आधार कार्डको व्यवस्था देखेर वास्तविक जन्तीहरू पनि अलमलमा परेको समाचार आएको छ ।

प्रतिक्रिया दिनुहोस