आजदेखि पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुद

कास्की- पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन समारोहको तयारी पुरा भएको छ । माछापुच्छ्रेको काखमा रहेको पोखरा र यसको मुटुमा रहेको रङ्गशाला चिटिक्क सिँगारिएको छ ।

नवौँ राष्ट्रिय खेलकुदकै सन्दर्भमा तयारीका लागि यत्रतत्र छरिएर खेल्दै गरेका खेलाडीले गतिविधिले यहाँको रौनक बढाएको छ । दसैँ र आसपासमा केही दिनको लगातारको झरीपछि पोखराको मौसम पनि खुल्दै गएको छ ।

कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ मा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको ‘काउण्टडाउन’ आज सकिँदैछ । नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण खेलको मिति पुनःसरेको थियो । अब भने नवौँ राष्ट्रिय खेलकुदको प्रतिक्षाको घडी सकिएको छ ।

नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले आज दिउँसो ३:३० बजे भव्य समारोहकाबीच गर्नुहुने भएको नवौँ राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिनुभयो । उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउनका लागि सबै किसिमको तयारी भएको उहाँले जानकारी दिनुभयो ।

विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई चार दशकपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका जुरेको हो । कूल ३६ वटा खेल खेलाइने नवौँ राष्ट्रिय खेलकुदमा आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा एकसाथ जुट्दैछन् ।

प्रतिक्रिया दिनुहोस