मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धन : अध्यक्ष नेपाल

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पार्नुभएको छ ।

ललितपुरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताउनुभयो । “दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो”, उहाँले भन्नुभयो, “त्यसको विपक्षमा हामी उभियौँ, संविधान र लोकतन्त्र पनि जोगायौँ ।”

संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उहाँको भनाइ थियो । “गणतन्त्र मास्ने अभियान शुरु हुन खोज्दै थियो”, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँ ।”

जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यका साथ वाम र लोकतान्त्रिक पार्टीबीचको गठबन्धन बनाइएको उहाँको भनाइ थियो । “वाम र लोकतान्त्रिक शक्ति एकताबद्ध भएको लामो परम्परा छ”, अध्यक्ष नेपालले भन्नुभयो, “विगतमा वाम र लोकतान्त्रिक शक्ति मिलेर राणा शासन, पञ्चायत र राजसंस्थाको अन्त्य गरियो ।”

प्रतिक्रिया दिनुहोस