अन्तर्वार्ता : संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौँ : सीके राउत

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको सङ्घीय संसद्मा प्रतिनिधित्व हुने देखिएको छ ।

नतिजा सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि अङ्कको जोड घटाउ तथा सघन वार्ता र संवाद सुरु भइसकेको छ । यसै सन्दर्भमा विगतमा मधेसका मुद्दा उठाएर भूमिगत राजनीति गर्दै आउनुभएका चन्द्रकान्त (सीके) राउतको जनमत पार्टी पनि यसपटक राष्ट्रिय पार्टीको मान्यताका साथ सदनमा प्रवेश गर्दैछ ।

लाउड स्पिकर चुनाव चिह्नमार्फत प्रत्यक्षतर्फ एक सिट तथा समानुपातिकतर्फ तीन लाख ९४ हजार पाँच सय १६ मत ल्याई मधेसमा उदयमान वैकल्पिक राजनीतिक शक्तिका रुपमा देखिएको छ ।

मधेस आन्दोलनका अगुवाका रुपमा स्थापित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई विस्थापित गर्दै जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक सदन प्रवेश गर्न लाग्नुभएको हो । सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मनुभएका राउत पेशाले इञ्जिनीयर हुनुहुन्छ ।

अध्यक्ष राउतले आफूहरुले उठाएका स्वास्थ्य, शिक्षा, सुशासन र किसानका मुद्दालाई जनताले हामीमाथि भरोसा राखेर निर्वाचनबाट अनुमोदन गरेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएकोछ, संसद्मा बहुमत पुर्‍याउनका लागि पनि हाम्रो सिट नै निर्णायक हुन्छ ।

” निर्वाचनपछि नयाँ सरकार गठनका लागि दल र नेताबीच भइरहेको भेटवार्ता, सङ्ख्याको जोड घटाउलगायत समसामयिक विषयमा अध्यक्ष राउतसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सिवी अधिकारीले लिनुभएको अन्तर्वार्ताका सम्पादित अंश :

निर्वाचनमा भाग लिनुभयो, राम्रो नतिजा हासिल गर्नुभएको छ, सर्वप्रथम त तपाइँलाई हार्दिक बधाई र शुभकामना । अहिलेको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?

निर्वाचन आफँैमा लोकतान्त्रिक प्रक्रिया हो, त्यसमा भाग लिन र जनमत हासिल गर्न पाउँदा निकै खुसी लागेको छ । जनमत हासिल गर्ने यो औपचारिक माध्यम हो ।

यसबाट हाम्रा एजेण्डा जनताबाट अनुमोदित छन् कि छैन भन्ने परीक्षण भएको छ । जनताले हामीमाथि भरोसा राखेर खरोरुपमा उत्रेकामा खुसी लागेको छ ।

यहाँले राजनीति अघि बढाउँदाको अवस्था र अहिलेको परिवेश फेरिएको छ, यसलाई कसरी तुलना गर्नुहुन्छ ?

विगतमा जनमत छ वा छैन भनी मापन गर्ने आधार थिएन । हामी राजनीतिक मूलधारको प्रक्रियामा पनि सहभागी थिएनौँ । आमसभा र कार्यक्रम हुन्थ्यो तर जनसमर्थन कति छ भनेर औपचारिक मापन थिएन ।

त्यसबेला सरकारबाट विभिन्न बाधा अड्चन हाल्ने काम हुन्थ्यो । अहिले मूलधारमा आइसकेपछि खुला राजनीति गर्न पाएका छौँ । जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौँ । निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौँ । शिक्षा, स्वास्थ्य र रोजगारीको एजेण्डालाई लिएर निर्णय गर्ने ठाउँतिर अघि बढेका छौँ । त्यो ठाउँसम्म पुग्नेछौँ ।

प्रतिक्रिया दिनुहोस