ठ्याक्कै एक वर्षमा थुनामुक्त भए पल शाह

१५ फागुन, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर  अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।

नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् ।

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका हुन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका थिए ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे ।

समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस