दिवंगत अभिनेता तथा गायक जयनन्द लामाको सम्झनामा १२ फिट अग्लो सालिक स्थापना

काठमाडौं । दिवंगत अभिनेता तथा गायक जयनन्द लामाको स्मृतिमा सिन्धुपाल्चोकको बाह्रबिसेमा सालिक स्थापना गरिएको छ । जयनन्द लामा स्मृति कोषले १२ फिट अग्लो उक्त सालिकलाई आठ लाख रुपैयाँ खर्चमा निर्माण गरेको हो । शुक्रबार उक्त सालिकलाई एक समारोहबीच अनावरण गरिएको छ ।

डम्फु बजाएर नाचिरहेको भावमा सालिकको डिजाइन गरिएको छ । कलाकार भैरवबहादुर थापा र बागमती प्रदेशकी सदस्य मसिना खड्काले सालिक अनावरण गरेका हुन् । उक्त अवसरमा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ पनि उपस्थित थिए ।

कोषका सदस्य प्रेम दोङले सालिक वरपर संग्रहालय र कम्पाउन्ड बनाउने तयारीसहित २५ लाख बराबरको योजना बनाइरहेको बताए । नगरपालिकाको ४ लाख, नुवाकोटको ककनी गाउँपालिकाको १ लाख र स्थानीय गाउँले मिलेर बाँकी रकम जुटाएका हुन् । उक्त अवसरमा बोल्ने वक्ताले कलाकार लामा सिन्धुपाल्चोकको मात्र नभएर मुलुककै प्रेरक व्यक्तित्व भएको बताए ।

लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ । गत वर्ष फागुन ११ गते उनी भक्तपुरको मध्यपुरथिमि-१ स्थित निवासको गेटअघि उनी मृत भेटिएका थिए । नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट फिल्ममा अभिनय यात्रा थालेका थिए । पहिलो क्यासेट एल्बम निकाल्ने गायक समेत जयनन्द नै थिए । उनले दुई सय बढी गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस