पल शाहलाई सफाइ दिने फैसला विरुद्ध अदालत बाहिर प्रदर्शन’ कार्ड बोकेर उच्च अदालत अगाडि प्रदर्शन

पोखरा : अभिनेता पल शाह विद्धको बलात्कारको अभियोगलाई बदलेर बाल यौन दुरुपयोगमा सजाय तोकेको अनि पुनरावेदनमा त्यसमा पनि सफाइ दिएको भन्दै एक समूहले उच्च अदालत अगाडि विरोध प्रदर्शन गरेका छन्।
जिल्ला अदालत नवलपुरले बलात्कारको अभियोगलाई बाल यौन दुरुपयोग भएको ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएका शाहलाई उच्च अदालत पोखराको संयुक्त इजलासले सफाइ दिएर रिहा नै गरिसकेको छ।

फैसलाको विरोधमा एक समूह उच्च अदालत अगाडि प्लेकार्डसहित विरोधमा उत्रिएका हुन्। उनीहरूले न्यायालयले नाबालिग बलात्कार जस्तो गम्भीर अपराधमा पनि गलत नजिर स्थापना गर्न लागेको भन्दै विरोध गरेका हुन्।

विरोध प्रदर्शनमा सहभागीले ‘पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार’, ‘न्यायालयले गल्ती गर्ने अधिकार छैन’, ‘पोलेर बोलेको’ लगायतका पम्पलेट बोकेर उच्च अदालतको गेट अगाडि एक घण्टा धर्ना दिएका थिए।

नाबालिग बलात्कार अभियोग लागेका शाहलाई नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो भने जिल्ला अदालत तनहुँले त सफाइ नै दिएको थियो।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई बाल यौन दुरुपयोगमा समेत सफाइ दियो।

गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध नाबालिगको परिवारले बलात्कारको जाहेरी दिएका थिए।

उजुरीपछि शाह फागुन १५ मा पक्राउ परेका थिए। गैँडाकोटमा समेत बलात्कार गरेको भन्दै उनै नाबालिगको परिवारले जाहेरी दिएका थिए। प्रारम्भमा दुवै अदालतबाट पुर्पक्षका लागि कारागारको आदेश आएकोमा पछि तनहुँले सफाइ नै दियो भने नवलपुरले मागदीवी नै नगरेको विषयमा प्रवेश गरेर सजाय र जरिवाना तोकेको थियो।

प्रतिक्रिया दिनुहोस