सुकुम्बासी १४ वर्षीया रिक्जना, जसले सामान्य अभ्यासले चार स्वर्ण पदक जितिन

म्याग्दी – म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगाएपछि उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् ।

सुकुम्बासी परिवारकी उनले हालै सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सतर्फको विभिन्न विधामा चार स्वर्ण पदक जितिन । उदीयमान रिक्जना प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । अहिले जिल्लाभरी उनको चर्चा चुलिएको छ । म्याग्दी नदीको कटानले घरखेत बगाएपछि माझी परिवार टहरा बनाएर बसेको छ ।

बाआमाले जस्तै रिक्जनाले पनि फुर्सदमा दैनिक मजदुरी गर्दैआएकी छिन् । बाँकी समय उनले पढाइ र खेलकुदमा खर्चेकी छिन् । रिक्जनाले मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बनेर देखाएको विद्यालयका शिक्षक हर्क छन्त्यालले बताउनुभयो । रिक्जनाले म्याग्दी सदरमुकाम बेनीमा यही साता सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा त्रिपलजम्प र रिले दौडमा चार स्वर्ण जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस