फ्रान्स र नेपालमा धेरै कुरा मिल्दाजुल्दा छन्

नेपालमा प्रजातन्त्र दिवसको दिन टुँडीखेलमा परेड हुन्छ, अनि दिनभर विभिन्न कार्यक्रमहरूको आयोजना गरिन्छ । फ्रान्समा चाहिँ राष्ट्रिय दिवस कसरी मनाइन्छ ?

फ्रान्सको राष्ट्रिय दिवस हरेक वर्षको १४ जुलाइमा मनाइन्छ । यो दिनमा नै राष्ट्रिय दिवस मनाउनुका दुई कारणहरू छन् । पहिलो: सन् १७८९ मा पेरिसका जनताले तानाशाही राजतन्त्रको द्योतकका रूपमा रहेको ब्यास्टी जेल कब्जा गरेको स्मरण गर्न र दोश्रो: सन् १७९० मा फ्रान्सेली जनता १४ जुलाईमा ब्यास्टीमै जम्मा भएर अब हाम्रो देश संघीयतामा जानुपर्छ भनेर गरेको निर्णय सम्झिन ।

इतिहासमा हेर्ने हो भने फ्रान्समा राजतन्त्र विभिन्न समयमा फिर्ता आयो, त्यस कारण केही वर्ष राष्ट्रिय दिवस मनाइएन । त्यसैले हामी के भन्ने गर्छौँ भने १४ जुलाई २०० वर्ष देखि फ्रान्सको राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ, केही वर्षहरूमा बाहेक ।

राष्ट्रिय दिवसका दिन पेरिसमा सेनाले परेडको आयोजना गर्छ । कार्यक्रम लगभग २-३ घण्टासम्मको हुन्छ । हरेक वर्ष राष्ट्रपतिज्यूले सेनाको कुन टुकडीले परेडमा भाग लिने भनेर निर्णय गर्नुहुन्छ । त्यसै गरी हरेक वर्ष फ्रान्सले एकजना विशिष्ठ पाहुनालाई पनि कार्यक्रममा सरिक हुन निम्तो दिने गरेको छ । यसपालि चाहिँ राष्ट्रपति ट्रम्प आउनुहुने भएको छ । पूरै कार्यक्रम फ्रान्सको राष्ट्रिय टीभी ‘टिभी स्याङ्क’ (टिभी फाइभ) मा हेर्न सकिने छ ।

यस बाहेको १३ जुलाईमा हरेक वर्ष फ्रान्सका विभिन्न भागहरूमा ‘बल’ (विशेष प्रकारको नाच) को आयोजना गरिन्छ । फ्रान्सेली संस्कृतिका अनुसार धेरै जसो ठाउँहरुमा दमकलका कर्मचारीले यस्तो कार्यक्रमको आयोजना गर्ने गर्दछन् । कार्यक्रमहरु राति अबेरसम्म चल्ने गर्दछन् ।

नेपाल लगायत अरु देशहरूमा चाहिँ फ्रान्सको राष्ट्रिय दिवस कसरी मनाइन्छ ?

मैले यसपालि टीभी स्याङ्कमा देखाइने लाइभ कार्यक्रमलाई रेकर्ड गर्ने र फ्रान्सेली दूतावासले १४ जुलाईमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रोजेक्टर मार्फत देखाउने व्यवस्था मिलाइसकेको छु । फ्रान्सको सरकारी नीतिअनुसार संसारभरका फ्रान्सेली मिसनहरूको दायित्व हो राष्ट्रिय दिवसमा एउटा औपचारिक कार्यक्रमको आयोजना गर्नु र त्यहाँका गन्यमान्य व्यक्तिहरूलाई निम्तो दिनु । यसपालि नेपालका उपराष्ट्रपति हाम्रो कार्यक्रममा पाल्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस