रुसले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने

मस्काे— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी बेलारुसमा आणविक हतियार तैनाथ गर्ने बताएका छन् ।

युरोपको सन्दर्भमा राष्ट्रपति पुटिनले अमेरिकाले युरोपमा धेरै ठाउँमा आफ्नो आणविक हतियार राखेको बताउँदै त्यसको तुलनामा आफ्नो यो कदमले निःशस्त्रीकरण सम्झौता उल्लङ्घन नहुने बताएका छन् ।
यद्यपि उनले यो हतियारको नियन्त्रण रुसले बेलारुसलाई नदिने पनि बताए । शनिवार पुटिनले रुसी सरकारी टेलिभिजनलाई बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले रुसले बेलारुसमा पनि आफ्ना आणविक हतियार राख्नु पर्ने कुरा लामो समयदेखि भन्दै आएको बताए ।

उनले भने, ‘यसमा कुनै अचम्मको कुरा छैन । अमेरिकाले दशकौँदेखि यस्तो गर्दै आइरहेको छ । उसले आफ्नो सहयोगी देशको जमिनमा रणनीतिक रूपमा महत्त्वपूर्ण हतियार तैनाथ गरिरहेको छ ।’

पुटिनले बेलारुसमा सामरिक हतियार भण्डारणका लागि निर्माण भइरहेको भण्डारण इकाईको काम यसै वर्षको जुलाई १ सम्ममा सम्पन्न गर्ने बताएका छन् ।

राष्ट्रपति पुटिनले रुसले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न आवश्यक पर्ने केही इस्कन्डर मिसाइल प्रणाली बेलारुसमा पठाइसकेको बताए ।

सन् १९९० को दशकको मध्यपछि रुसले आफ्नो देशबाहिर आफ्नो मित्र राष्ट्रमा आणविक हतियार तैनाथ गरेको यो पहिलो पटक हो ।

सन् १९९१ मा सोभियत सङ्घको विघटनपछि रुसको हतियार नयाँ स्वतन्त्र भएका चार देशमा बाँकी भएका थिए – रुस, युक्रेन, बेलारुस र कजाकस्तान । यी सबै हतियार रुस ल्याउने काम सन् १९९६ मा सम्पन्न भएको थियो ।

पुटिनको घोषणापछि अमेरिकाले रुसले आणविक हतियारको प्रयोगमा विचार नगर्ने कुरामा विश्वस्त रहेको बताएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीले हाम्रो रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरूका सम्बन्धमा हाम्रो रणनीति परिवर्तन नगर्नुको कुनै कारण देख्दैनौँ ।’

मन्त्रालयले यो पनि भन्यो, ‘हामी नेटो सैन्य गठबन्धनमा संलग्न देशहरूको रक्षाका लागि प्रतिबद्ध छौँ ।’

बेलारुस रुसको महत्त्वपूर्ण सहयोगी मानिन्छ । रुस–युक्रेन युद्ध सुरु भएदेखि नै उसले रुसलाई समर्थन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस