राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताउनु भएको छ । आज काठमाडौ–१९ यटखास्थित नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उद्योगमन्त्री स्व नवीन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनु भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले स्व. नवीन्द्रराज जोशीको निष्ठावान् राजनीतिको प्रशंसा गर्दै स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउनु भयो ।

नेपाली जनता, समाज र राष्ट्रको सर्वांगीण विकासका लागि जीवनभर एउटा इमान्दार सिपाहीको रूपमा काम गर्दागर्दै असामयिक मृत्युवरण गर्नुभएका नवीन्द्रराज जोशीप्रति राष्ट्रपति पौडेलले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

त्यसबखत राष्ट्रपति पौडेलले योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताउनु भयो ।

मष्तिष्काघातका कारण १७ चैत २०७७ मा जोशीको निधन भएको थियो । उपचारका क्रममा उहाँको काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो । जोशी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस