समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ: प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताउनुभएको छ । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताउनुभयो ।

“शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्नुहुँदै उहाँले उनीहरुको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको उल्लेख गर्नुभयो । “संविधानले संसद्मा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । अहिले स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिला छन् । अरू देशको तुलनामा महिलाको यो राजनीतिक सहभागिता बढी हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

महिलामा सिर्जनात्मक क्षमता बढी हुने उल्लेख गर्नुहुँदै उहाँले आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि उनीहरुको सहभागिता बढाउँदै लैजानुपर्नेमा जोड दिनुुभयो । लैङ्गिक असमानता हुँदा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने उहाँको भनाइ छ ।

कार्यक्रममा उद्योगी तथा सांसद विनोद चौधरीले विभिन्न राजनीतिक परिवर्तनसँगै महिला सशक्तिकरणको मुद्दा पनि मूल प्रवाहीकरण हुँदै गएको बताउनुभयो । केही अघिसम्म नेपालमा राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती र न्यायपालिका प्रमुखका रुपमा सुशीला कार्कीले काम गरेको स्मरण गर्नुहुँदै उहाँले वालमार्ट जस्ता बहुराष्ट्रिय कम्पनीको नेतृत्व महिलाले गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस