एकपटक पुग्नै पर्ने पाथीभरा धाम

ताप्लेजुङ- देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले पाथीभरामा आउने तिर्थयात्रीको सङ्ख्या बर्सेनि बढ्दो रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउनुहुन्छ । यहाँ हिन्दू, बौद्ध र किराँत धर्म मान्ने धार्मिक हिसाबले पुग्ने गरेका छन् । वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन ।

भारतका विभिन्न क्षेत्रबाट उल्लेख्यरुपमा तीर्थयात्री आउने मन्दिरमा अन्य मुलुकका समेत पर्यटकहरु फाट्टफुट्ट पुग्ने गरेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गरिरहनुभएका इन्द्रनारायण भट्टराईले बताउनुभयो । भारतका सिक्किम, दार्जलिङ, पश्चिम बङ्गाल, विहार, आसाम साथै भुटानबाट आउने तीर्थयात्रीको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा छ ।

प्रचारप्रसारसँगै यातायातलगायतका पूर्वाधारको विकास हँुदै गएकाले पनि तीर्थयात्रीको सङ्ख्या बढेको हो । पछिल्लो समय पाथीभरा आउन जानका लागि यातायात सहज बन्दै गएको छ । सडक र हवाई दुवै सेवामार्फत ताप्लेजुङ ओहोरदोहोर गर्न सकिन्छ । तीर्थयात्रीको सहजताका लागि समयसमयमा यातायात व्यवसायी, होटल व्यवसायीलगायतका सरोकारवाला सङ्घसंस्थासँग छलफल हुने गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।

प्राकृतिकरुपमा नै प्रकट भई प्राकृतिक छटाले भरिपूर्ण साक्षात् देवीको महिमा र गरिमा झन्झन बढ्दै गएको छ । देवी अवस्थित सो ठाउँ पाथी भर्दा चुलिए झैँ देखिने भएकाले पाथीभरा भनिएको स्थानीय समाजसेवी रणबहादुर कार्की बताउनुहुन्छ । पाथीभरा फुङ्लिङ नगरपालिका, सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सङ्गम स्थलमा रहेको छ । जताबाट हेरे पनि पाथी भरिएर चुलिए झैँ चुलिएको देखिने भएकाले यहाँको नाम पाथीभरा रहन गएको स्थानीयवासीको तर्क छ । पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालीका’ हो । भोग बलि दिइने भएकाले रक्तकाली पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस