दुई श्रीमतीसँग श्रीमानको सम्झौता, हप्तामा तीन दिन एउटीसँग, तीन दिन अर्कीसँग एक दिन छुट्टी !

सुन्दा यो कुरा अनौठो लाग्न सक्छ तर यो सत्य हो । शिक्षित र पेशाले सफ्टवेयर इन्जिनियर रहेका २८ वर्षका एक युवकले दुई जनासँग बिहे गरे । उनले दुई बिहे गरेको खुलेपछि विवाद अदालत पुग्यो ।

अदालती कारवाहीका बीच फैसला नहुँदै उनीहरू तीनै जनाबीच अदालत बाहिर अनौठो सम्झौता भयो । सम्झौता अनुसार अब ती युवक हप्तामा तीन दिन एउटी श्रीमतीसँग बस्नेछन्, तीन दिन अर्कीसँग बस्नेछन् भने एक दिन उनले आफ्नै लागि समय दिनको लागि विदा पाउनेछन् ।

हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार ग्वालियर पारिवारिक अदालतले नियुक्त गरेका मध्यस्थकर्ताले यस्तो सहमति गराएका हुन् । सम्झौताअनुसार नोएडाका ती युवकको डेढ लाख तलब दुई वटी श्रीमतीमा बराबर बाँडिनेछ र उनले श्रीमतीसँगको सहमतीमा त्यो पैसा खर्च गर्न पाउनेछन् ।

उनीसँग दुईवटा फ्ल्याट छन् र प्रत्येक पत्नीले एक फ्ल्याट पाउँछन् । उनले सोमबारदेखि बुधबार एक श्रीमतीसँग र बिहीबारदेखि शनिबार अर्कीसँग बिताउनेछन् । आइतबार उनी कसैसँग बस्न बाध्य छैनन् र जहाँसुकै बस्न स्वतन्त्रता छ ।

‘यो सम्झौता उल्लङ्घन गरेमा पहिलो श्रीमतीले ती पुरुषविरुद्ध अदालत जान सक्नेछिन्,’ सम्झौतामा भनिएको छ । बहुविवाह भारतमा एक अपराध हो, तर यी तीन जनाले गरेको सम्झौताले उनीहरूलाई यसको लागि दण्डित हुनबाट रोक्छ ।

जनवरी २०२३ मा ग्वालियर पारिवारिक अदालतले विवाद समाधान गर्न नियुक्त गरेका सल्लाहकार अधिवक्ता हरीश देवानले भने कि उक्त व्यक्तिले मे २०१८ मा २६ वर्षीया महिलासँग विवाह गरेका थिए । उनीहरू दुबै सफ्टवेयर इन्जिनियरहरू थिए जो गुडगाउँको एउटा कम्पनीमा काम गर्थे ।

२०२० मा महिला गर्भवती भइन् र महामारीको प्रकोप पनि भएकोले युवकले गर्भवती पत्नीलाई ग्वालियरमा आफ्नो आमाबुवाको घरमा छोडे । ‘कोभिड १९ का कारण आवतजावतमा प्रतिबन्ध लगाइएको थियो र पुरुषले महिलालाई आफ्नो परिवारसँग बस्न भने,’ देवानले भने ।

तर जब उनी गुडगाउँ काममा फर्किए कहिल्यै ग्वालियर फर्किएनन् र सन् २०२१ मा एउटै कम्पनीमा काम गर्ने अर्की महिलासँग विवाह गरे । ती महिला पनि गर्भवती भइन् । “दोस्री श्रीमतीले जुलाई २०२१ मा छोरीलाई जन्म दिइन् । यो सबै समय उनकी पहिलो श्रीमतीले उनलाई फर्काउन चाहन्थिन् तर उनले उनलाई टार्न थाले,” देवानले भने ।

जनवरी २०२३ मा उनको पहिलो पत्नीको परिवार उनलाई भेट्न नोएडा गए र थाहा पाए कि उनी अर्की श्रीमतीसँग बस्दै थिए जसको बच्चा पनि थियो । उनीहरूले झगडापछि नोएडाको स्थानीय पुलिस स्टेशनमा उजुरी दिए तर कुनै एफआईआर दर्ता भएन ।

त्यही महिना पहिलो पत्नीले ग्वालियरको पारिवारिक अदालतमा गुजारा भत्ताको लागि मुद्दा दायर गरिन् । अदालतले अधिवक्ता र काउन्सिलर हरीश देवानलाई मंगलबार मुद्दाको सुनुवाई अघि सम्झौतामा पुग्न प्रयास गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस