राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइयो

काठमाडौं । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइएको छ ।काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आज ३० औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी ३० औं स्मृति दिवस मनाइएको छ ।

स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष समेत रहनुभएकी राष्ट्रिय विभुति शेर्पाकी छोरी आङ फुटी शेर्पाले शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको श्रोत भएको बताउनु भयो । उहाँले फाउण्डेशनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले देशमा नै हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले संसारभरका महिलालाई शासहरुपी प्रेरणा दिनुभएको थियो । हामीले हिमाल आरोहणमा चाहना गर्ने महिलालाई फाउण्डेशनको तर्फबाट सहयोग गरिरहेका छौँ । राज्यले पनि त्यसमा अझै सहयोग गरिदिनुपर्छ, जो महिलाहरु चाहना राख्नुहुन्छ तर विविध कारणवश हिमाल आरोहण लगायतका गतिविधि गर्न सकिरहनुभएको छैन, उहाँहरुलाई राज्यले हेर्नुपर्छ । आरोहीहरुलाई बाहिर देशमा सम्मान होइन, आफ्नै देशमा सम्मान गर्न सक्नुपर्छ ।’

त्यस्तै पासाङ ल्हामु प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरु आज आएर साकार भइरहेको देख्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले पासाङ ल्हामु शेर्पाले देशका लागि केही गर्छु भन्ने भोक रहेको र उहाँको आत्मविश्वासलाई देखेर नै आजका महिलाहरुमा थप काम गर्ने इच्छा, चाहना र प्रेरणा प्राप्त भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँको देशका लागि, समुदायका लागि केही गर्छु भन्ने सपना थियो, त्यो अहिले पनि जीवित रहेको छ जस्तो लाग्छ । उहाँको सपना देशका लागि केही गर्छु भन्ने थियो, त्यो सपना आज साकार भइरहेको छ । उहाँको आत्मविश्वासदेखेर अहिलेसम्म ७० बढी महिलाहरुले हिमाल आरोहण गरिसक्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस