पर्वतको दुर्लुङमा पहिरोले ज्यान गुमाएकाहरुको सामूहिक अन्त्येष्टि

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका ८ जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।

उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।

पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका छ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सयौंको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस