बुबाको मृत्यु, आमा जेलमा, छोराको बिचल्ली

आमाबुबाको काखमा लुटपुटिएर बालापनको आनन्द लिनुपर्ने उमेरका छ वर्षीय निमेश खड्काका आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् ।

म्याग्दीको बेनीनगरपालिका–९, घतानका छ वर्षीय अवोध बालक खड्का आमा र बुबाको कर्मको फल भौग्दै बिचल्लीमा परेका हुन् । अवोध बालकको दयनीय अवस्था देख्न नसकेर बेनीका होटल व्यवसायी कृष्णप्रसाद बरुवालले खड्कालाई अस्थायी आश्रयमा लिनुभएको छ ।

जिल्ला अदालत म्याग्दीले निमेशका बुबा उत्तम र आमा मनिषा सुवेदी खड्कालाई आफन्तको मनशायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरे पछि निमेशकी आमा मनिषा जेल जीवन बिताइरहनु भएको छ भने बुबा उत्तमको जेलमा नै मृत्यु भएको छ ।

आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केहीसमय जेलभित्रै बसेर बिताएका थिए । बेनीस्थित शिखर होटलका सञ्चालक बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गर्नुभएको छ ।

खाने, खेल्ने र रमाउने उमेरमा निमेश बेसाहराजस्तै भएका छन् । निमेशलाई वरुवालले बेनी कै समता विद्यालयमा पढ्न पठाउनुहुन्छ । “पढाइ राम्रो छ, पढ्न मात्रै खोज्छ, आमा जेलमा परेपछि रेखदेख गर्ने मान्छे घरमा नहुँदा होटल मै राखेको छु”, बरुवालले भन्नुभयो ।

जेलभित्रै रहेकी निमेशकी आमा मनिषाले आफ्नो छोरालाई शिक्षादीक्षाको लागि सहयोग गरिदिन देशविदेशमा रहेका मनकारी व्यक्ति र सङ्घसंस्थासँग अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस