५५० जना बच्चा जन्माउन वीर्यदान गरेका व्यक्तिलाई अब त्यसो नगर्न आदेश

वीर्यदान मार्फत् संसारभर ५५० जनाभन्दा धेरै बच्चा जन्माउन योगदान गरेको ठानिएका एक डच पुरुषलाई त्यसो गर्न रोक्न त्यहाँको एक अदालतले आदेश दिएको छ।

जोनाथन नाम गरेका ४१ वर्षीय पुरुषले पुनः वीर्यदान गर्ने प्रयास गरेमा उनलाई १ लाख युरोभन्दा धेरै रकम जरिवाना हुन सक्छ।

सन् २०१७ मा उनले १०० भन्दा धेरै बच्चा जन्माउनका लागि बुवाको भूमिका निर्वाह गरेपछि नेदरल्याण्ड्सका प्रजनन क्लिनिकहरूमा उनलाई वीर्यदान गर्न प्रतिबन्ध लगाइएको थियो।

तर त्यस क्रमलाई नरोकी उनले विदेशमा र अनलाइनमार्फत वीर्य दानको काम जारी राखे।

द हेगस्थित एक अदालतले उनलाई उनले प्रयोग गरेका क्लिनकहरूको सूची उपलब्ध गराउन भन्यो र तिनलाई उनको वीर्य नष्ट गर्न भन्यो।

ती व्यक्तिले सयौँ महिलालाई झुक्क्याएको बताइएको छ।

नेदरल्याण्ड्सको कानुनले के भन्छ?

नेदरल्याण्ड्सको कानुन अनुसार एकजना वीर्यदाताले १२ परिवारमा २५ जना भन्दा धेरै बच्चाका लागि बाबु बन्न मिल्दैन।

तर न्यायाधीशहरूका अनुसार ती पुरुषले सन् २००७ मा वीर्यदान गर्न सुरु गरेयता ५५० देखि ६०० बच्चा जन्माउन सघाएका छन्।

वीर्यदानबाट जन्मिएका बालबालिकाको अधिकार संरक्षणमा काम गर्ने एक संस्था र उनको वीर्यबाट जन्मिएको भनिएका एक बच्चाकी आमाले उनलाई अदालतमा पुर्‍याएका थिए।

उक्त अदालतका एकजना प्रवक्ताले भनेका छन्: “कुरा के हो भने यस्तो सयौँ दाजुभाइ र दिदीबहिनी (एउटै बुवाको सन्तान)हरूको नाताको सञ्जाल निकै नै ठूलो भयो।”

उनको वीर्य प्रयोग गरेर डच क्लिनिकहरूमा र अन्यत्र गरी १०० भन्दा धेरै बच्चाहरू जन्मिए। तर उनले डेनमार्कको एक क्लिनिकमा समेत वीर्यदान गरेका थिए जसले त्यसलाई कैयौँ देशका ठेगानमा पठाउँथ्यो।

एक न्यायाधीशका अनुसार ती पुरुषलाई कुनै सम्भावित अभिभावकसँग “वीर्यदानको चाहनाले भेट्न…आफ्नो सेवाबारे विज्ञापन गर्न वा सम्भावित अभिभावकहरूबिच सम्बन्ध स्थापित गर्ने कुनै संस्थामा संलग्न हुन रोक लगाएको छ।”

वीर्यदाताले कसरी झुक्याए?

ती पुरुषले सम्भावित अभिभावकलाई यसअघि नै आफूले जन्माउन सहयोग गरेका बच्चाको सङ्ख्याबारे “नियतवश गलत सूचना” दिएको द हेगस्थित जिल्ला अदालतले जनाएको छ।

अदालतले भनेको छ: “ती सबै अभिभावकहरू अहिले आफ्नो परिवारका सन्तान सयौँ (फरक आमाहरू तर एउटै बुवाबाट जन्मिएका) दाजुभाइ तथा दिदीबहिनीको सञ्जालको हिस्सा भएको तथ्यबाट चिन्तित छन् जुन उनीहरूले रोजेका थिएनन्।”

अदालतले बालबालिकामा यसको मनोवैज्ञानिक असर परेको वा पर्न सक्ने भन्दै आफ्नो निर्णय “निकै नै स्वीकार्य हुने” जनाएको छ।

दाजुभाइ-दिदीबहिनीबीच अनजानमै विवाह भएर सन्तान जन्मिन सक्ने सम्भावना कम रहनका लागि वीर्यदाताहरूलाई आफ्नो सेवा कम सङ्ख्यामा सीमित गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस