भ्रष्टाचारी अब समातेर हेलिकप्टरमा लगेर टुँडिखेलमा पछार्नुपर्छ : मन्त्री किराँती

काठमाडौं, २२ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाएका छन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण केपी ओलीको सरकारको उपहार त हो । नेकपाले दुई तिहाइको सरकार बनाउँदा ड्राइभिङ सिटमा को थियो ? यो उहाँले अह्रनखटन मिलाएर भएको घटना हो ।

त्यसैले उहाँमा छटपटी हुनु स्वाभाविक हो । उहाँको पालामा यस्ता अनगन्ती घटना भएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै किराँतीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचारको विरुद्धमा सम्झौताहीन ढंगले लाग्नुपर्ने उनले जोड दिए । उनले भने, ‘असली र नक्कली राजकुमार दिक्पाल छुट्टिने बेला यही हो । यो कुरा प्रधानमन्त्रीलाई थाहा छ । भ्रष्टाचारमा सम्झौता नगरौं । कसैको डर, धाक, धम्की, त्रास र लोलोपोतोमा परेर सम्झौता गर्न थाल्यौं

भने हामीले राष्ट्रको आवश्यकता र जनताको चाहनालाई नेतृत्व गर्न सक्दैनौं । बरु कुर्सीमा पाँच दिन बसौं, इमानदारीपूर्वक काम गरौं ।’
नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुले सत्य आफैं बोलेको पनि मन्त्री किराँतीले बताए ।

उनले भने, ‘उपप्रधानमन्त्री भइसकेको र बहालवाला सांसदले कानुनको पालना गर्ने हो कि सम्पर्कविहीन भएर भाग्ने हो ? सत्य आफैं बोल्छ । धुरीबाट पाप कराउँदैछ । दुइटा पहरा ढालेपछि बाटो खुल्छ । सकेनौं भने हामीले छोड्नुपर्छ । समयले हामीलाई पर्खदैन ।’

प्रतिक्रिया दिनुहोस