आफ्नै मुद्दासँग जोडेर पलले ल्याए ‘तिमीलाई हेर्ने बानी पर्‍याे’ को म्युजिक भिडिओ

जेलबाट छुटेपछि पल शाहले अभिनय गरेको पहिलो ‘म्युजिक भिडिओ’ सार्वजनिक भएको छ । गीत पुरानै भए पनि भिडिओका कारण यसले चर्चा बटुल्न सक्छ ।

‘तिमीलाई हेर्ने बानी पर्‍यो…’ बोलको हिट गीतको फिमेल भर्सनमा पलले अभिनय गरेका हुन् । प्रेमिल भावमा रचिएको गीतलार्ई भिडियोमा ट्वीस्ट गर्दै पलको बलात्कार मुद्दासँग जोडिएको छ ।

पक्राउ परेपछि पललाई प्रहरीले अदालत लैजाँदाको दृष्य जस्ताको तस्तै उतार्न खोजिएको छ । उक्त दृष्यमा पल त्यही पहिरनमा छन्, जुन पहिरनमा उनी त्यसबेला अदालत लैजाँदा थिए ।

पल पक्राउ परेपछि आमा र बहिनी प्रहरी कार्यालय पुगेको दृष्यबाट भिडियो सुरु हुन्छ । त्यसपछि भिडियोमा सबै उनकै वास्तविक जीवनका घटनाक्रमहरु देखाइएको छ । पलको प्रेमिकाको भूमिकामा सनिशा भट्टराईले अभिनय गरेकी छन् ।

सनिशाले कुन प्रेमिकाको भूमिकामा अभिनय गरेकी हुन् भन्ने प्रश्न उठ्न सक्छ । जेल जानुअघि पल एकैपटक धेरै युवतीसँग प्रेममा थिए ।

पल जेलबाट निस्किएपछि आफन्त र शुभचिन्तकले फुलमाला लगाएर स्वागत गरेको, आमाले आरती उतारेको दृष्यहरु पनि भिडियोमा छन् । पलको रिहाइका लागि मस्जिददेखि गुम्बासम्म प्रार्थना गरिएको पनि देखाइएको छ । भिडियोको निर्देशन पल शाह आफैंले गरेका हुन् ।

पलको बुवाको भूमिकामा प्रकाश अधिकारी, आमाको भूमिकामा सुर्यमाला खनाल र बहिनीको भूमिकामा प्रिन्सु तिवारीले अभिनय गरेका छन् ।

‘तिमीलाई हेर्ने बानी पर्यौ’ गीतको पुरुष भर्सन पुष्पन प्रधानले गाएका थिए । उक्त गीतमा पनि पलले नै अभिनय गरेका थिए । उक्त गीतले ८३ लाखभन्दा बढी भ्यूज पाएको छ । यी दुवै गीत पलले आफ्नै नामको च्यानलबाट रिलिज गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस