सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताउनुभयो ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले जनसंगठनहरुको पदाधिकारी बेलामा बोल्दै उहाँले सरकारले विदेशीसँग एउटा कुरा र संसदमा अर्कै कुरा गर्ने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकको आर्थिक अवस्था क्षतविक्षत अवस्थामा पुगेको र राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सर्तक भएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्लियामेन्टमा पोशाक लगाएर आऊ भन्दा त्यसको विरोध र अवज्ञा गर्नुलाई बहादुरी ठान्ने अवस्था आउनु राम्रो नभएको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले हुँडारको बथानले जसरी आक्रमण गर्दा पनि पार्टीलाई जोगाएर अघि बढाउन सकिएको दावी समेत गर्नुभयो । पार्टी चल्न नदिने, पार्टीमा गति आउन नदिने, पार्टी नीतिप्रति, पार्टी नेतृत्वप्रति अनास्था जगाउने, निष्ठा ध्वस्त पार्ने, आस्था भंग गरिदिने, अन्तरध्वंस मच्चाउने नराम्रा घटना विगत २ वर्षमा भएको उल्लेख गर्दै उहाँले अहिले पार्टीलाई सशक्त ढंगले पुनर्जिवित गर्न सकिएको बताउनुभयो ।

ओलीले मुलुकको समृद्धि र विकासमा केन्द्रित भएर काम गर्न पनि पार्टी नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस