सुनको जलहरी काण्ड महालेखाले पहिल्यै प्रश्न उठाएको थियो, आज तातियो संसद

जेठ १२ काठमाण्डौँ । आज सरकारको नीति तथा कार्यक्रम पारित हुनु पर्ने दिनमा एकाएक एमालेले पूर्व सूचना विनै संसद अवरुद्ध गर्यो । उसले माओवादी सांसद लेखनाथ दाहालले यस अघि पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि सुनको जलहरी लगाउने काण्डसँग जोडेर प्रश्न उठाएको विषयमा सरकारले स्पष्ट पार्नु पर्ने माग गर्दै नाराबाजी समेत गरेको छ ।

अहिले सम्म संसद सूचारु हुन सकेको छैन । यसले यो सुन प्रकरण एकाएक फेरी सतहमा आएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा पशुपति नाथको मन्दिरको गर्भ गृहमा चाँदीको जलहरीको स्थानमा सुनको जलहरी लगाउने निर्णय गर्दै त्यसको कार्यान्वयन समेत गरेका थिए ।

पशुपतिनाथ मन्दिरको दर्शन गर्न गएका बेला उनले सुनको जलहरी राख्न सरकारले ३० करोड दिने घोषणा गरेका थिए । २०७७ फागुन १२ गते राष्ट्रपति विद्या भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको शिवलिङ्गमा ९६ किलोको सुनको जलहरी राखिएको थियो ।

त्यसअघि रहेको चाँदीको जलहरीलाई विस्थापित गर्दै सुनको जलहरी राख्ने विषयमा त्यो बेला निकै विवाद समेत भएको थियो । जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शन विपरीत भएको तर्कसहित विभिन्न पक्षहरूबाट विरोध पनि भएको थियो । पूर्व वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिव लिङ्गमुनि सुनको जलहरी राख्ने काम प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको भन्दै सर्वोच्चमा मुद्दा समेत दायर गरेका थिए । जलहरी राखिसकेपछि सर्वोच्चले तत्काल जलहरी नराख्न भन्दै अन्तरिम आदेश समेत दिएको थियो ।

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरी राख्दा करोडौँ रुपैयाँ बराबरको सुन हराएको आशङ्का गरेको थियो । सो ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ । २०७० सालमै पशुपति विकास कोषले राख्ने भनेको सुनको जलहरी विवाद भएपछि तत्काललाई रोकिएको थियो भने ओली प्रधानमन्त्री भएका बेला झन्डै १ अर्ब रुपैयाँमा १०८ किलो सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको थियो । ९६ किलोको जलहरी राखे पनि त्यसमा १२ किलो सुन थप्न बाँकी राखिएको थियो ।

१०८ किलो सुनको जलहरी राख्न ८० करोड रुपैयाँ खर्च लागेको कोषले बताए पनि महालेखाको प्रतिवेदनले भने करोडौँ रुपैयाँको सुन हराएको आशंका गरेको थियो ।

प्रतिक्रिया दिनुहोस